अफगानिस्तान, १९ भाद्र । तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको बताएका छन्।

तर प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन्।

पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन्।

अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रवार युरोपेली सङ्घ र ब्रिटेनले तालिबानले नयाँ सत्ता गठन गर्दा आफूहरूले मान्यता नदिने तर सञ्चारको ढोका खुल्ला राख्ने जनाएका छन्।

परस्पर विरोधी धारणा

तालिबान स्रोतले रोयटर्स समाचार संस्थालाई जानकारी दिए अनुसार उनीहरूले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेका छन्।

तर लडाइँमा सामेल प्रतिरोधी फौज यसलाई अस्वीकार गर्छन्।

उक्त समूहका नेता पूर्व अफगान राष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताउनुभयो ।

बीबीसीलाई पठाएको भिडिओ सन्देशमा उहाँले दुवै पक्षमा क्षति भएको बताउनुभएको छ ।

अहिले हामी अप्ठेरो परिस्थितिमा रहेकोमा कुनै आशङ्का छैन्। हामी तालिबानको आक्रमणमा परेका छौँ। तर हामी आत्मसमर्पण गर्दैनौँ। हामी अफगानिस्तानको पक्षमा उभिएका छौँ।

उहाँले आफू देशबाट भागेको भन्ने विवरण खण्डन गर्दै मानिसहरूलाई आश्वस्त पार्न भिडिओ पठाएको जनाएका छन्।

तर बीबीसीले स्वतन्त्रतापूर्वक उहाँको अवस्थिति पुष्टि भने गर्न सकेको छैन्।

पन्जशिरमा भइरहेका लडाइँमा सयौँले ज्यान गुमाएका विवरण आएका छन्।

तालिबान विरोधी गढ

काबुलको उत्तरमा रहेको सो उपत्यका अफगानिस्तानको सबैभन्दा सानो मध्ये एक प्रान्त हो।

तालिबानको हातमा नपरेको यो एउटै मात्र अफगान प्रान्त हो।

पहाडहरूले छेकिएको उक्त प्रान्त परम्परागत रूपमा नै तालिबान विरोधी गढ हो ।

त्यहाँ डेढ लाखदेखि दुई लाख मानिसको बसोबास छ।

पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन्।

उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन्। र अमेरिकाले त्यहाँ सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ।

यो गुरिल्ला युद्धका लागि उपयुक्त स्थान हो तर यो रणनीतिक छैन, बीबीसी विश्व सेवाका पत्रकार हरून शफीकी भन्छन्।

न यो कुनै बन्दरगाहको नजिक छ, न यहाँ कुनै उद्योग छ, न त यसले देशको कुल गार्हस्थ्य उत्पादनमा टेवा पुर्‍याउँछ।

पन्जशिर
प्रतिरोधी फौजमा पूर्व अफगान सुरक्षा निकाय र स्थानीय मिलिसियाहरू छन् र त्यसको नेतृत्व स्थानीय नेता अख्मद मसुदले गरिरहाुभएको छ ।

उहाँका पिताले सन् १९८० को दशकमा सोभियतको अतिक्रमण र सन् १९९० को दशकमा तालिबानविरुद्ध सफलतापूर्वक लड्नुभएको थियो ।

न्याशनल रेजिस्टेन्श फ्रन्टका प्रवक्ता अली नाजरीले विद्रोहीहरूले तालिबानलाई पछि हट्न बाध्य परेको बताउनुभयो ।

उहाँका अनुसार केही सयभन्दा बढी तालिबानहरू फसिरहेको उल्लेख गर्दै उनीहरूको हात हतियार सकिँदै गएको र आत्मसमर्पणको सर्तहरूबारे छलफल भइरहेको बीबीसीलाई बताउनुभयो ।

तर तालिबानका एक जना कमान्डरले रोयटर्स समाचार संस्थालाई पन्जशिर आफ्नो नियन्त्रणमा आएको र समस्याकारीहरू पराजित भएको बताएका छन्।

तालिबानहरूले अफगानिस्तानमा आउँदा दिनमा नयाँ सरकार गठन गर्ने ठानिएको छ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर