काठमाण्डौं, २९ साउन । नेपाली काँग्रेसका २२ जना आमन्त्रित केन्द्रिय सदस्यले राजिनामा दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निजी आवास बुढानीलकण्ठमा बसेको केन्द्रिय समितिको आजको बैठकमा उनीहरूले यस्तो घोषणा गरेका हुन् ।
नेपाली काँग्रेसको केन्द्रिय बैठक हिजो २८ गते देखि त्यहाँ चलिरहेको छ । बैठक पार्टीको आगामी महाधिवेशनको मिति नयाँ मिति र कार्यतालिका टुंगो लगाउने मूल मुद्दामा केन्द्रित छ ।
सोही बैठकमा ती आमन्त्रित सदस्यहरूले आफूहरू वडादेखिनै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि हुनुपर्ने पार्टीको व्यवस्था विभेदकारी भएको भन्दै त्यो व्यवस्था सच्याउन माग गरेका छन् ।
काँग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र क्षेत्रीय सभापति महाधिवेशनको प्रतिनिधि स्वत: हुने सुविधाजनक व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्यहरूको लागि भने भने त्यो सुविधा छैन ।
यही व्यवस्थालाई उनीहरूले विभेदकारी बताएका हुन् ।
उनीहरूको भनाइ छ : ‘चुनाव लडेर आउने भए पदाधिकारी, केन्द्रीय सदस्य सबै चुनाव लडेर आउनुपर्छ, नभए किन हामीलाई मात्रै बेग्लै नियम? यो व्यवस्था सच्याउनुपर्छ।’
राजीनामाको घोषणा गर्ने आमन्त्रित केन्द्रीय सदस्यहरूमा १. जनकराज कलौनी, २.मोहनसिंह राठौर, ३. बालकृष्ण पाण्डेय, ४.सुधीरकुमार शिवाकोटी, ५. नरेन्द्रकुमार चौधरी, ६. शम्भुलाल श्रेष्ठ, ७. आशाराम चौधरी, ८. रमा कोइराला पौडेल, ९.दिलीप राई, १०. कुमार खड्का, ११. भूमिबहादुर (विश्व) गुरूङ, १२.मनोहरनारायण श्रेष्ठ, १३. किरणराज शर्मा पौडेल, १४. गोपालकुमार बस्नेत, १५. हसन अन्सारी, १६.अभिषेख प्रताप शाह, १७. राजेन्द्रबहादुर सिंह, १८.नन्दनकुमार दत्त, १९. आनन्द (गोरख) विष्ट, २०.कृष्णकिशोर घिमिरे, २१. ध्रुव वाग्ले,र २२.दयाराम पाण्डे छन् ।