काठमाडौँ, ११ साउन । साउन महिनाको दोस्रो तथा तिथि अनुसारको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालय बाहिर भक्तजनको भीड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन् । पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि खुला नगरिएपछि भक्तजन बाहिरी क्षेत्रका शिवालयमा दर्शन एवं पूजा आराधना गरेर फर्किएका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी कम हुँदै गएको भन्दै सार्वजनिक यातायातलगायत अन्य सबैजसो क्षेत्र खुला गरिसकिएको अवस्थामा मन्दिर पनि खुला गरिनुपर्ने भक्तजनको माग छ । साउन महिना र सोमबार शिवको महिना एवं बार भएकाले दर्शन तथा आराधनाका लागि दैनिक लाखौँ भक्तजन पशुपति क्षेत्र आउने परम्परा छ । गत वर्ष र यस वर्ष पनि साउन महिनामा पशुपतिनाथ मन्दिर नखुल्दा बाहिरबाट दर्शन गर्न बाध्य हुनुपरेको चन्द्रागिरि नगरपालिकाबाट दर्शनका लागि आउनुभएका श्यामप्रसाद भुर्तेलले सुनाउनुभयो ।

पशुपतिनाथ मूल मन्दिरको दक्षिणी भागस्थित मुख्य ढोकाबाट मूलभट्ट एवं भट्टलाई भेट्न जाने जनाउँदै केही मानिस भित्रिने तर अरुलाई छिर्न नदिने गरेको अनुभव भोग्नुपरेको उहाँको गुनासो छ । शङ्करका मन्दिरमा पनि यस्तो व्यवहार हुँदा दुःखी हुनुपरेको पशुपति क्षेत्र आउने भक्तजनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरका सबै ढोका बन्द गरेर साउनमा सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम काँवर यात्रासमेत स्थगन गरेको छ । कोषले यात्रा स्थगन गरे पनि केही बोलबम यात्री भने सुन्दरीजलबाट सवारी साधन प्रयोग गरी जल लिएर पशुपति क्षेत्र प्रवेश गरेको देखिन्छ ।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल मूलभट्टलाई भेट्न आउने आगन्तुक पञ्चदेवलसँगैको दक्षिणी ढोकाबाट प्रवेश गर्न दिइए पनि मूल मन्दिरमा प्रवेश गर्न सुरक्षाकर्मीले रोकेको बताउनुहुन्छ । आइतबारदेखि बढी भीडभाड हुने मन्दिरलगायत क्षेत्रका लागि १० ठाउँमा निषेधाज्ञा थपिएकाले पनि साउनभर नै मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको उहाँले बताउनुभयो ।

पशुपतिनाथ मन्दिर गत वैशाख पहिलो सातादेखि नै भक्तजनका लागि बन्द गरिएको थियो । त्यसैबेलादेखि विशेष पूजा पनि रोकिएको छ । मूल मन्दिरमा साउनमा प्रत्येक वर्ष हुने अन्य पूजा भने जारी रहेको जनाइएको छ ।

गोकर्णेश्वर मन्दिर बाहिर भीड

राजधानीको उत्तरी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको बाहिरी क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिर बन्द भएपछि केही दर्शनार्थी गोकर्णेश्वर मन्दिरमा दर्शन गर्न पाइने आशामा जम्मा भएकामा बाहिरैबाट फर्कनुपरेको दुःखेसो पोख्छन् । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले दुवैको उत्तिकै शास्त्रीय महत्व रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

असारको अन्तिम साता गोकर्णेश्वर नगरपालिका– ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले विज्ञप्ति निकाली यस वर्ष साउनमा मन्दिर बन्द रहने जानकारी गराउनुभएको थियो । गोकर्णेश्वर मन्दिरमा नित्य पूजा, आरतीबाहेकका सबै गतिविधि बन्द गरिएको नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाका कारण साउनमा पनि बाध्य भएर मन्दिर बन्द गर्नुपरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो ।

बाहिरी भागमा जम्मा भएका भक्तजन भने भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर छिर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्छन् । वाग्मतीको वारिपारि दूरी कायम गरी बस्न सकिने प्रशस्त स्थान भएकाले त्यस्तो व्यवस्था गर्न दर्शनार्थी पार्वती पुडासैनीले माग गर्नुभयो ।

काठमाडौँ उपत्यका र बाहिर पनि शहरी क्षेत्रका ठूला मन्दिर कोरोना जोखिमका कारण बन्द गरिएका छन् । भक्तजनलाई बन्द गरिए पनि मन्दिरमा नित्य पूजा एवं आरती भने हुने गरेको छ । सार्वजनिक यातायातलाई भीड गर्न दिने तर मन्दिर नखोल्ने नीतिप्रति भक्तजनले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर