काठमाडौँ, १९ असार । नेकपा (एमाले)को केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीको विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गर्नुभएको थियो । बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ ।
जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने, केन्द्रीय कमिटीको यसअधिको बैठकले तय गरेको आगामी साउन २५ देखि २७ गतेसम्म विधान अधिवेशन काठमाडौँमा गर्ने, त्यसका निम्ति पार्टीका अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, सङ्गठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव पेश भएको थियो ।
पार्टीको तल्ला तहका अधिवेशनअन्तर्गत आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिकास्तरका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पेश भएको थियो । केन्द्रीय तहका विभिन्न ३२ वटा विभागमा रहने व्यक्तिको नाम प्रस्ताव गर्न यसअघि नै जारी अन्तरपार्टी निर्देशनअनुसार मागिएको सिफारिश अविलम्ब पठाउन आग्रह गरिएको छ । स्थायी कमिटीको आगामी बैठकले विभागमा रहने सदस्यको नामावाली टुङ्ग्याउने गरि प्रस्ताव गरिएको थापाले जानकारी दिनुभयो । सिङ्गो मुलुक निर्वाचनको तयारीमा जुट्न अनुरोध गरिएको छ । पेश भएको प्रस्तावमा घनिभूत छलफल भएको उहाँले जानकारी दिनुभयो ।