चीन, १७ असार । चीनका राष्ट्रपति सी जिनपिङले विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने बताउनुभएको छ ।
उहाँले सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आज आयोजित एक समारोहलाई सम्बोधन गर्दै सो वताउनुभएको हो ।
उहाँले बेइजिङले आफू मात्रै असल भनेर अरूलाई दिने उपदेशलाई नसहने पनि बताउनुभएको छ ।
उहाँको सो टिप्पणी अमेरिकालाई लक्षित गरिएको मानिएको छ ।
हङ्कङ्मा भइरहेको भनिएका मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा त्यस्तो टिप्पणी आएको हो ।
हालैको समयमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको छ ।
ताइवान
ताइवानको मुद्दा पनि दुई देशबीचको तनावको प्रमुख कारण हो ।
प्रजातान्त्रिक ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने गर्छ भने चीनले उक्त टापुलाई आफूबाट अलग भएर गएको प्रान्त भन्ने गर्छ ।
अमेरिकी कानुन अनुसार ताइवानलाई बेइजिङले बल प्रयोग गरेर आफूमा विलय गर्न खोजेमा उस्लाई आफ्नो बचाउ गर्न सक्ने सहयोग प्रदान गर्न आवश्यक पर्दछ ।
बिहीवार राष्ट्रपति सीले ताइवानसँगको एकताका निम्ति चीनको अविचलित प्रतिबद्धता रहेको बताउनुभयो ।
बेइजिङको तियानआनमेन चोकमा केही सावधानीपूर्वक छनौट गरेर निम्ता गरिएका मानिसहरूको समूह उपस्थित थियो जसमध्ये धेरैले मास्क लगाएका थिएनन् । बीबीसी
