काठमाडौँ, ११ असोजः बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध भएका छन्
। सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।
पूर्व–पश्चिम राजमार्गसहित छ सडक खण्डमा एकतर्फी र आंशिकरुपमा यातायात सञ्चालनमा आएको छ । विभागका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएकाले हाल एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर पूर्णरुपमा सडक सञ्चालनका लागि मेसिन परिचालन गरिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेको छ । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।
नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सो पहिरो हटाउने क्रम जारी छ ।
बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातयात सेवा अवरुद्ध भएको छ । निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले आज सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ ।
यसैगरी, कान्ति राजमार्गको चपली र तकुर्चेलायत स्थानमा पहिरो झरेका कारण सवारी आवागमन बन्द रहेको छ । सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी, सोलु खोला नजिक सडक भासिदा भित्तो कटान गरी अस्थायी रुपमा सञ्चालन भएको छ ।
मध्यपहाडी राजमार्गस्थित बागलुङको घोडाबाँधे–हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान, चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाइ सडक एकतर्फी सञ्चालनमा ल्याइको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा झरेको पहिरो वर्षा कारण पन्छाउन कठिनाइ भएको छ । यस्तै जैमिनी–८, बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी खुला गरिएको छ भने लामा दूरीका सवारीलाई हाल अनुमति दिइएको छैन ।
तमोर करिडोरको मुलघाट–फिदिम खण्डको छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक अवरुद्ध भएको छ । नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ ।
राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोटमा पहिरो झेरपछि सडक पूर्णरुपमा बन्द भएको छ ।
कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पहिरो कारण यातायात प्रभावित भएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ ।
भालुवाङ–चकचके–लिवाङ सडकको विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ । साना सवारीसधान सावधानीपूर्व सञ्चालनमा ल्याएको छ भने पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ । यस्तै बेसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकाको खोत्रोमा ढुङ्गा खसेकाले पहिरो पन्छाउन कठिनाइ हुँदा सडक पूर्णरुपमा बन्द भएको छ ।
विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक अवरोध हटाउन तथा यातायात सेवा यथाशीघ्र सञ्चालन गर्न उपकरण तथा प्राविधिक प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।
–––
