काठमाडौँ, ३० भदौ । विश्व क्रिकेटका ब्याटिङ हस्ती अस्ट्रेलियाका डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नुहुने भएको छ।

वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैँपछि नेपाल आउनुहुनेछ।

एनपिएल खेल्न आउने विदेशी खेलाडीमध्ये उहाँ अहिलेसम्मकै ठुला नाममध्ये एक हुनुहुन्छ। अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा सन् २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी हुनुहुन्थ्यो। सन् २०२१ को टी–२० विश्वकपमा उहाँ ‘प्लेयर अफ द सिरिज’ चुनिनुभएको थियो।

‘“डेभिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि महिनौँसम्म छलफल भएका थिए र यसमा सहभागी सबैको कुरा–चित्त, धैर्यता र विश्वास गराउन महिनौँ लाग्यो। तर उहाँस्तरको खेलाडीले काठमाडौँको प्रतिनिधित्व गर्ने र त्रिवि मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयास गर्‍यौँ,” काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले भन्नुभयो।

वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाउनुभएको छ। उहाँको नाममा ८ हजार ७८६ टेस्ट र ६ हजार ९३२ एकदिवसीय अन्तर्राष्ट्रिय रन रहेको छ। वार्नरले पछिल्लो पटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा खेल्नुभएको थियो।

टेस्ट क्रिकेटमा उहाँको उच्च स्कोर अविजित ३३५ रन रहेको छ। उहाँले सन् २०१९ मा एडिलेडमा पाकिस्तानविरुद्ध उक्त रन बनाउनुभएको हो। टेस्ट क्रिकेटमा अस्ट्रेलियाका लागि यो दोस्रो उच्च स्कोर हो। ३९ वर्षीय वार्नरले सबैखाले टी–२० मा ४३९ खेल खेल्दै १४० भन्दा बढीको स्ट्राइक रेटमा १४ हजारभन्दा बढी रन बनाउनुभएको छ।

इन्डियन प्रिमियर लिग ९आईपिएल० मा उहाँले तत्कालीन दिल्ली डेयरडेभिल्सबाट सन् २००९ देखि २०१३ सम्म खेल्नुभयो। सन् २०१४ मा सनराइजर्स हैदराबादमा आबद्ध भएपछि उहाँ अर्को वर्ष कप्तान बन्नुभयो। उहाँकै कप्तानीमा सन् २०१६ मा सनराइजर्स हैदराबाद आईपिएल च्याम्पियन बनेको थियो।

सन् २०१५, २०१७ र २०१९ मा उहाँ आईपिएलको सर्वाधिक रनकर्ता हुनुहुन्थ्यो। उहाँले सनराइजर्स हैदराबादबाट आईपिएलमा सन् २०२१ सम्म खेल्नुभयो। सन् २०२२ मा वार्नरलाई पुनः दिल्ली क्यापिटल्सले लिएको थियो।

काठमान्डु गोर्खाजले यसअघि नै श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई पनि अनुबन्ध गरिसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर