सप्तरी, १७ साउन । आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो पारिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार आईतवार बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म दैनिक उपभोग्य सामग्रीको खरिद–बिक्री तथा अत्यावश्यक कामका लागि कर्फ्यु आदेशमा आंशिक छुट दिइएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार तोकिएको समयभित्र जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा साम्प्रदायिक एकता कायम राख्ने उद्देश्यले सञ्चालन गरिने र्यालीका लागि प्रशासनबाट पूर्वस्वीकृति लिइएको अवस्थामा कफ्र्यु आदेश लागू हुने छैन ।
तर, खुकुलो गरिएको समयको दुरुपयोग गर्दै हुलदङ्गा वा अशान्ति फैलाउने उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुने, उच्छृङ्खल गतिविधि गर्ने वा गराउने जो–कोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहान ११ः०० बजेपछि अर्को आदेश जारी नभएसम्म राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यु आदेश पूर्ववत् लागू रहने जनाएको छ ।
