सुरुङ्गा (झापा), १८ जेठ । झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार आइतबार राति मेचीनगर–१५ नीलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको कुटपिटका कारण मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा तनहुँ घर भई हाल मेचीनगर–१५ स्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ३५ वर्षीय रामबहादुर गौतमलाई पक्राउ गरिएको हो ।
आपसी विवादका क्रममा गौतमको कुटाइबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
