चितवन, ४ असार । नेपाली कांग्रेस चितवनले प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेस चितवनका सल्लाहाकार महेश्वरलाल श्रेष्ठको नाममा पार्टी कार्यालयमा रहेको सभाहलको नामाकरण गरेको छ । श्रेष्ठको निधन भएको १३औँ दिनको पुण्यतिथिको अवसरमा बिहीबार आयोजित श्रद्धाञ्जलिसभामा कांग्रेस पार्टी कार्यालयमा रहेको सभाहललाई उहाँको सम्झनामा महेश्वरलाल स्मृति सभाहल घोषणा गरिएको हो ।

श्रद्धाञ्जलिसभामा कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ, जिल्ला सदस्य केशव महर्जनलगायतले श्रेष्ठको योगदानका विषयमा चर्चा गर्नुभएको थियो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापति श्रेष्ठले सभाहलको नामकरण गर्नुभएको हो ।

विसं १९९४ पुस २९ गते मकवानपुरको चिसापानीगढीमा जन्मनुभएका उहाँले पाल्पाको पब्लिक पदम हाइस्कूलमा अध्ययन गर्नुभएको थियो । विसं २०१२ मा चितवन आउनुभएका उहाँले २०१४ को भद्रअवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०१५ बाट चितवनमा स्थायी बसोबास गर्नुभएका उहाँ सोही वर्ष भएको आम निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०१७ को राजनीतिक कूसँगै तनहँुको बन्दीपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ मा भरतपुर कब्जा गर्ने सशस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत सशस्त्र विद्रोहमा नेतृत्व प्रदान गर्नुभएको कांग्रेस चितवनका सभापति श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार विसं २०१८ पछि आठ वर्ष निर्वासन, पटक–पटक राजबन्दीका रूपमा जेलजीवन, २१ पटक हिरासतमा पर्नुभएका उहाँ २०४६ को जनआन्दोलनमा तत्कालीन सरकारले राज्यद्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो । उहाँको निधन जेठ २२ गते काठमाडौँमा उपचारका क्रममा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर