काठमाण्डौं, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई त्यहाँको प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त भएको छ । उहाँ गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

संवैधानिक प्रावधान अनुसार यसरी नियुक्त हुने मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्दछ ।

पोखरेलले आजै प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको प्रस्ताव उपर छलफल भएपछि प्रदेशसभासदहरुले त्यसको पक्ष विपक्षमा मतदान गरेका थिए ।

विश्वासको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले वर्तमान व्यवस्थाको स्थायित्व र विकासको निम्ति आफूलाई मत दिइ विजयी गराउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।

मतदानको परिणाम अनुसार मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ र विपक्षमा  २७ मत परेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । राष्ट्रिय जनमोर्चाले सो पार्टीका कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा सदस्य संख्या  घटेको हो।

त्यसैले यो अवस्थामा मुख्यमन्त्री पोखरेललाई विश्वासको मत पाउन ३० सांसदको समर्थन भए पनि पुग्ने अवस्था थियो ।

यसअघि जेठ २७ गते तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पद रिक्त भएको थियो ।त्यतिबेला गुरुङ्ले २७ मत पाउनुभएको थियो ।

त्यसपछि माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एक स्वतन्त्र सांसद समर्थनमा काँग्रेसका पोखरेलले मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्नुभएको थियो । त्यतिबेला उहाँलाई ३१ सांसदकै हस्ताक्षर-समर्थन थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर