मुस्ताङ, १२ वैशाख । कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । यहाँको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्षीय विमला गौलीसहित १२ जनाको टोली आज यहाँको कागबेनीमा श्राद्ध गर्न पुगेको थियो । उक्त स्थानमा दिवङ्गत पितृको नाममा श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण गौली अचानक नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।
हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी कागबेनीबाट चार जना, जिल्ला प्रहरी कार्यालयबाट पाँच जना र सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म हेडक्वाटर जोमसोमबाट ११ जनाको टोलीले खोजी सुरु गरेको थियो । त्यस क्रममा श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण कालीगण्डकी नदी किनारामा बालक अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो ।
निजलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका उहाँले बताउनुभयो ।
चट्याङ लागेर एक महिलाको मृत्यु
पर्वतः जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।
