काठमाडौ, २९ जेठ । समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइरहेका बेला विशाल जीव ह्वेलको मुखभित्र करिब ३०,४० सेकेन्ड परेको प्याकर्डले बताउनुभयो ।

त्यसपछि ह्वेलले उहाँलाई थुकिदिएको बताइएको छ ।

प्याकर्डको घुँडामा केही चोट लागेको हुनसक्ने बाहेक अरू केही नभएको बताइएको छ ।

उहाँकी श्रीमतीले उहाँलाई अर्को जागिर खोज्न आग्रह गरिरहेकी छन् तर उहाँ ४० वर्षदेखिको आफ्नो करिअर छोड्ने सोचमा छैनन् ।

हम्पब्याक ह्वेल ५० फिटसम्म लामो हुन सक्ने र त्यसको तौल ३६ टनसम्म हुन सक्छ ।
विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफका अनुसार संसारभर उक्त ह्वेलको सङ्ख्या ६० हजार रहेको छ ।

प्याकर्डले स्थानीय अखबार केप कड टाइम्सलाई भने अनुसार उहाँ र उहाँका सहकर्मीहरू डुङ्गामा शुक्रवार बिहान समुन्द्रतिर गएका थिए ।

उहाँका अनुसार मौसम सफा थियो र २० फिट परसम्मका दृश्य सजिलै देखिन्थो ।

समुन्द्रको पानी मुनि जान लगाइने स्कूबा लुगा लगाएर पानीमा हाम फाल्दा उहाँले ठूलो बस्तु आफ्ना अगाडि देखेको त्यसपछि सबैकुरा कालो भयो ।

आफूलाई त्यो क्षेत्रमा पाइने ठूलो सेता शार्कले आक्रमण गरेको अनुमान गर्नुभयो, त्यसपछि मैले वरिपरि शार्कको जस्तो दाँत नभएको महसुस गरेँ।
हे भगवान् म त ह्वेलको मुखभित्र छु र उसले मलाई निल्ने कोसिस गरिरहेको छ भन्ने थाहा पाएँ । यत्ति नै भयो, म मर्ने भएँ ।

त्यसपछि आफूले आफ्नी श्रीमती र १२ र १५ वर्षका आफ्ना छोरा सम्झेको बताउनुभयो ।

त्यसपछि अचानक उहाँ पानी माथि पुग्नुभयो र टाउको हल्लाउन थाल्नुभयो ।

मलाई हावामा फालियो, त्यसपछि पानीमा खसेँ । म मुक्त भएको थिएँ र पानीमा तैरिरहेको थिएँ । मैले विश्वास नै गर्न सकिन‘ सब कथा सुनाउन म यहाँ छु ।

उहाँका सहकर्मीहरू उहाँलाई अधैर्य भएर खोजिरहेका थिए । उनीहरूले प्याकर्डलाई देखे र डुङ्गामा ल्याए ।

प्रोभिन्सटाउन फायर डिपार्टमेन्टले सीबीएस न्यूज एजेन्सीलाई स्थानीय समय बिहान सवा आठ बजे झिँगे माछा समात्ने मानिसलाई सहयोग आवश्यक परेको खबर पाएको पुष्टि गरेको छ ।

उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकारहरूले उहाँको अन्तर्वार्ता लिएका थिए ।

हम्पब्याक ह्वेलले मुख बाएर जति सक्छ उति धेरै खानेकुराहरू निल्छ ।

वैज्ञानिकहरूले प्याकर्डलाई जे भयो त्यो एक प्रकारको दुर्घटना भएको ठान्छन् ।

एकजना विज्ञले केप कड टाइम्सलाई ह्वेलले मानिस निलेको अहिलेसम्म नसुनेको बताए ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर