अमेरिका, १९ पुस । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमणूमा त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको बताएका छन्।

उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्।

मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन् भने भेनेजुएला सरकारले अहिलेसम्म यसको पुष्टि गरेको छैन।

यसअघि भेनेजुएलाको राजधानी कराकाससहित उक्त देशका विभिन्न भागहरूमा विस्फोटहरू भएका विवरण आएका थिए।

जसक्रममा बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका सैन्य केन्द्रहरूसहितका स्थानमा आक्रमण गर्न आदेश दिएको बताएका थिए।

भेनेजुएलाको सरकारले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै अमेरिकी आक्रामकतालाई नस्वीकार्ने बताउँदै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ।

उनले उक्त हमला अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयासको रूपमा गरेको भन्दै त्यसको निन्दा गरेका छन्।

प्रभावितमध्ये राजधानी सहरको केन्द्रमा अवस्थित हवाई क्षेत्रसहितको सैन्य क्षेत्र र फोर्ट ट्युनाको मुख्य सैनिक अखडा छन्। त्यस आसपासका कैयौँ समुदायहरू विद्युतविहीन बनेका छन्।

सहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ। स्थानीय सञ्चारमाध्यमका खबरमा विस्फोटहरूसँगै विमानहरू उडेको आवाज पनि सुनिएको बताइएको छ।

ती हमलाहरूका पछाडि कसको भूमिका छ भन्ने अझै थाहा भएको छैन तर राष्ट्रपति निकोलास मदुरो ट्रम्प प्रशासनको तीव्र दबाबमा छन्।

वासिङ्टनले हालैका सातामा लागूपदार्थ बोकेको आरोपमा क्यारिबियनमा कैयौँ डुङ्गाहरूमा आक्रमण गरेको छ।

अमेरिकी अधिकारीहरूले भेनेजुएलाबाट आइरहेका खबरबारे आफूहरू जानकार रहेको बताएका छन्। भेनेजुएलाका अधिकारीहरूबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो अवैध रूपमा निर्वाचित भएको र उनी व्यक्तिगत रूपमा देशभर लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाएको छ।

भेनेजुएला सरकारले वाशिङ्गटनले हालै गरेका तेल ट्याङ्करहरू कब्जा गर्नेसहितका कारबाहीहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डार नियन्त्रण गर्न बाध्य पार्ने प्रयासको एउटा अंश भएको जनाएको छ।

महिनौँदेखि भेनेजुएलालाई दबाबमा राखेर र दक्षिण क्यारबियन सागरमा अमेरिकी सेना युद्धपोतसहित परिचालन भएपछि यी आक्रमणहरू भएका छन्।

अमेरिकाले भेनेजुएलाबाट लागूपदार्थ तस्करी गरिरहेको भनिएका साना डुङ्गाहरूमा बारम्बार आक्रमण गरेको छ।

सेप्टेम्बरयता अमेरिकाले प्रशान्त र क्यारबियनमा पानीजहाज र लागुऔषध तस्करी गर्ने डुङ्गाहरूमाथि ३० वटा आक्रमण गरिसकेको छ।

सेप्टेम्बर २ मा अमेरिकाले अन्तर्राष्ट्रिय जल क्षेत्रको डुङ्गामाथि पहिलो आक्रमण गरेदेखि ११० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ।

वासिङ्टनले निकोलास मादुरोलाई भेनेजुएलाका वैध राष्ट्रपतिको रूपमा मान्यता दिँदैन र लागूपदार्थ तस्करीको आरोपमा उनको पक्राउ गर्नेका लागि पुरस्कारको व्यवस्था गरेको छ।

राष्ट्रपति ट्रम्पले सैन्य हस्तक्षेपको धम्की दिइरहेका छन् र मदुरोलाई सत्ता त्याग्न आग्रह गरेको भनिएका विवरण आएका छन्। मदुरोले भने अमेरिकाले भेनेजुएलाको तेल भण्डार कब्जा गर्न खोजेको आरोप लगाएका छन्। तर उनले शान्ति र वार्ताको लागि अपिल समेत गरिरहेका थिए। बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर