काठमाडौँ, १० मङ्सिर : सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकामा आज घटेर प्रतितोला रू एक लाख ५१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला रू एक हजार नौ सय ६० मा कायम भएकामा आज घटेर आज रू एक हजार आठ सय ४५ कायम भएको छ । प्रतितोला रू एक सय १५ घटेको हो ।
सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ । त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ । उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो ।
सरकारको यो निर्णयको सुनचाँदी व्यवसायीहरूले भने स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँछन् । आफूहरूले लामो समयदेखि भन्सार दर समायोजन गर्न माग गर्दै आएकोमा सरकारले यो माग पूरा गरेको उनको भनाइ छ ।
–––