काठमाण्डौं, १५ बैशाख । लुम्बिनीको प्रदेशसभाको विशेष अधिवेशन यही बैशाख १९ गतेको लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार, अधिवेशन सो दिन दिउँसो १ बजेबाट सुरु हुनेछ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल विरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता छ । त्यसको छिनोफानो गर्न यो विशेष अधिवेशन बोलाइएको हो । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि मुख्यमन्त्री पोखेलले चालू नियमित अधिवेशन अकस्मात् अन्त्य गराउनु भएको थियो ।

त्यसपछि विपक्षीहरूले विशेष अधिवेशनको माग गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता भए यता सो प्रस्तावमा हस्ताक्षर गर्ने २ जना र नगर्ने २ जना गरी जसपाका ४ सांसद मन्त्री भैसकेका छन् ।

लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद छन् । ८७ सांसदको सो सभामा हाल माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएको कारण ८५ सांसद  छन् । त्यहाँ नेकपा एमालेका ४१ सांसद छन् ।

माओवादी केन्द्रका १८ र नेपाली काँग्रेसका १९ सांसद छन् भने राष्ट्रिय जनमोर्चाको १ सिट छ ।

पार्टीको निर्णय विपरित सरकारलाई समर्थन गर्दै मन्त्री बनेका जसपाका चार जनामाथि कारवाही भएर पदमुक्त हुँदा प्रदेश सभामा ८१ सांसद  हुन्छन् । अविश्वास प्रस्ताव विद्यमान सांसदको बहुमतबाट पास हुनुपर्छ । त्यो अवस्थामा एमालेका ४१ ले नै पोख्रेललाई मुख्यमन्त्रीमा जोगाउन सक्छन् ।

तर एमाले भित्रको माधाव नेपाल पक्षीय केही सांसाद पोखेलको विरुद्ध खुलेर लागेको विद्यमान अवस्थामा कर्णाली प्रदेशमा जस्तै उनीहरूले फ्लोर क्रस गरे भने पोख्रेल हट्ने छन् र लुम्बिनीमा एमालेको सरकार रहने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर