काठमाण्डौं, १० बैशाख । सत्तासाझेखार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन आफूहरूलाई सहज नभएको बताउँदै वर्तमान सत्ताको आयुमा प्रश्न उठाउनु भएको छ ।

आज सोमबार नेकपा एमालेको पार्टीक केन्द्रीय कार्यालय च्यासलमा भएको वामनेता नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले त्यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो : ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ । मैले दिन सक्दिनँ’ ।

गठबन्धनका पछिल्ल दिनहरुमा  आफूहरूले सहज अनुभूत नगरेको अध्यक्ष नेपालको भनाई छ।

अध्यक्ष नेपालले बताउनुभयो : ‘परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभुत गरिरहेका छैनौं’ ।

कार्यक्रममा अध्यक्ष नेपालले आफूहरू कसैका धाक, धम्की, गालीगलौज सुन्नका लागि राजनीतिमा नआएको बताउँदै भन्नुभयो : ‘कसैको दास बन्ने हाम्रो नियत होइन’ ।

अध्यक्ष नेपालले कार्यक्रममा जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने र  कम्युनिष्ट नेतृत्वको सरकारले त्यसतर्फ इमान्दारितासाथ लाग्नुपर्ने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर