काठमाण्डौं, २३ पुस । राष्ट्रिय सभा आगामी निर्वाचनको लागि विभिन्न दलका ५२ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभाको १९ रिक्त सदस्य पदको लागि माघ ११ गते निर्वाचन हुँदैछ ।आज उम्मेदवारहरुले नामांकन दर्ता गराउनु पर्ने थियो ।
नामांकन दर्ताको लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्मको लागि समय तिकेको थियो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनुभएको जानकारी अनुसार निर्वाचन सात वटै प्रदेशमा हुदैछ र त्यसको लागि सातै प्रदेशमा गरेर ५२ जनाले आज उम्मेदवारी दर्ता गराएका छन् ।
यस निर्वाचनमा आठ वटा दलले भाग लिँदैछन्।
निर्वाचनमा भग लिने दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत लगायत आठ बटा पार्टी छन्।
आयोगका अनुसार ती दलहरूको तर्फबाट सातै प्रदेशमा गरेर महिलातर्फ १८, दलित तर्फ ५, अपांगता भएका वा अल्पसंख्यक तर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जनाले उम्मेदवारी दिएका हुन्।