काठमाडौँ, १७ पुस । नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
पहिलो चरणमा गठबन्धनका दुई दलबीच राष्ट्रियसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको र त्यसपछि गठबन्धनका अन्य दलसँग पनि छलफल हुने उहाँले बताउनुभयो ।
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।