काठमाण्डौ, १० भदौ । संघीय संसद् अन्तर्गतका संसदीय समितिका सभापतिको चयनकोलागि आज आइतबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ता गराउने समय बिहान ११ देखि दिउँसो ४ बजेसम्म रहेको छ ।
दलहरूबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको निर्वाचन भएको नौसम्म पनि समितिहरू नेतृत्व विहीन थिए । अब बल्ल नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।यसअघि सभापति नहुँदा समितिका बैठकहरूको अध्यक्षतामा ज्येष्ठ सदस्यले गर्दै आएका थिए ।
प्रतिनिधिसभाको गत बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गर्नुभएको थियो।
यसैबीच नेपाली काँग्रेसले आफ्नो भागमा गरेका चार समितिको सभापतिको नाम टुंगो लागाएको छ । प्राप्त समाचार अनुसार काँग्रेसमा उसको भागमा परेका राज्य व्यवस्था समितिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेलाई सभापति बनाउने आन्तरिक सहमति भएको छ ।