तनहुँ, २८ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता केबल भोट मात्रै हालिराख्ने मेसिन हुन् ? भनि प्रश्न गर्नुभएको छ ।
वरिष्ठ नेता पौडेलले उक्त प्रश्न प्रधानमन्त्री र कांग्रेसका केही नेताले चुनावबारे कुर। उठाइरहेको सन्दर्भमा गर्नृभएको हो ।
वरिष्ठ नेता पौडेलले उक्त कुरा दमौलीमा आज पत्रकारसँग कुरा गर्दै बताउनुभएको हो ।
उहाँले जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने धारणा राख्दै भन्नुभयो “जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले उपलब्धि प्राप्त गर्नुपर्छ”
उहाँले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको पनि बताउनुभयो ।
वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको भन्दै
उहाँले शुक्रबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिनुभयो । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताउनुभयो ।
नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प हुँदैन ।”