काठमाडौ, १० असार । पशुपतिनाथको जलहरीको सुन आज साँझ जोख्ने तयारी भएको छ।
उक्त जलहरी सुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, जनप्रतिनिधिलगायतको रोहवरमा सुन जोखिने स्रोतले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ। त्यसको जसको त्यतिवेलाको मूल्य करिब आठ करोड रुपैयाँ हुन्छ ।
करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै तत्कालिन राष्ट्रपतिविद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा १०८ किलो सुनको जलहरी अनावरण गर्नुभएको थियो ।
जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरेर बाँकी रहेको १०.९७६ किलो सुनको रिङ बनाई जलहरीमा लगाइएको कोषको जवाफ थियो। तर, जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि नभएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।
सुन हिनामिनाको आरोप लागेपछि कोषका सदस्यसचिव मिलनकुमार थापाले संसदीय समितिमा आरोपलाई निराधार भन्दै सुन जोख्न चुनौती दिनुभएको थियो ।
