प्रचण्ड र विप्लव फेरि एउटै मञ्चमा, भयो समाजवादी मोर्चाको घोषणा
२०८० असार ४ गते सोमबार, १८:१६ मा प्रकाशित
काठमाडौँ, ४ असार । विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले एक अवधारणापत्रमा हस्ताक्षर गर्दै सो मोर्चाको घोषणा गरेका हुन्।
अवधारणापत्रमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नत्रविक्रम चन्दले हस्ताक्षर गरेका छन् ।
नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
नेताहरूबीच मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।
यस्तै, दैनिक कार्यसञ्चालनका लागि एउटा सचिवालय गठन गर्ने र मोर्चालाई स्थानीयस्तरसम्म विस्तार गरिने बताइएको छ ।
कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताले हातेमालो गर्दै प्रसन्नता व्यक्त गर्नुभएको थियो ।रासस