काठमाडौ, २६ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ ।
पक्राउका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका निकायबाट पनि प्रहरी परिचालन गरिएको छ ।
पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा गत बुधबार रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरे पनि सँगै हुनुुहुन्थ्यो । सोही दिन रायमाझीले प्रहरीलाई सघाउने भन्दै काठमाडौंका लागि हिँडेको र सोही साँझ छोरा सन्दीप पक्राउ परेपछि उनी बिहीबार बिहानदेखि फरार भएका थिए ।
