भक्तपुर,२६ चैत । बिस्केट जात्राको अवसरमा आयोजना गरिएको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो भएको छ ।
मध्यपुरथिमि नगरपालिकाले बालकुमारी मन्दिर परिसरमा आयोजना गरेको सो प्रतियोगितामा सहभागी ३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको हो ।
उसले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा काठमाडौँ धर्मस्थलीको पुलांगु तःग्वगु धिमे खलःले दोस्रो हुँदै रु २० हजार प्राप्त गरेको छ भने भक्तपुर कमलविनायकको यातु गणेश द्यो गुठीले तेस्रो हुदै रु १० हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा सूर्यविनायक नगरपालिका–१, सिरुटारको लुँनिभा धिमे खलःले सान्त्वना पुरस्कार तथा लाय्कु धिमे खलः थिमिलाई रु पाँच हजारसहितको जर्ज च्वाइसको उपाधि प्रदान गरिएको छ ।
मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले विजयी हुनेलाई आज नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
