चितवन,२५ चैत । पहिलेका निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेस चितवनका चार नेताहरुले यो उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गर्नुभएको छ ।
कांग्रेसको उम्मेदवार जिताउन आह्वान गर्नेमा कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल हुनुहुन्छ ।
चितवनको क्षेत्र २ मा बैशाख १० गते प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको यो उपनिर्वाचनमा कांग्रेसले पूर्वसभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
चितवनका ती नेताहरुले आज एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक श्रेष्ठलाई विजयी गराउन आग्रह गर्नुभएको हो । ।
उहाँहरूले जारी गर्नुभएको संयुक्त अपिलमा उल्लेख छ : “नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिनसक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ । कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको छ । अतः मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ ।”
कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उहाँहरूले आफूहरू कांग्रेसका उम्मेदवारका पक्षमा उभिएको बताउनुभएको छ ।
उहाँहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनःकांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुन अपिल गर्नुभएको छ ।
पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा पर्नुभएका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागि पर्नुभएको छ ।
तर पार्टीबाट विद्रोह गरेर गत आम निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका जगन्नाथ पौडेल भने कांग्रेसको उम्मेदवारको पक्षमा देखिनु भएको छैन ।