दोहा,  १८ चैत । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ ।

नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न लागेको हो ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार एनआरएनए दोस्रो पुस्ताको यो अभियानमा ४० वर्षसम्मका नवोदित गायक–गायिका भर्चुअलमार्फत् सहभागी हुनसक्ने छन् ।

‘सार्क मुलुक बाहेकका, गैरआवासीय नेपाली संघ गठन भएका भएका सबै राष्ट्रबाट प्रतियोगीहरुलाई सहभागी गराइने छ,’ रेग्मीले भने, ‘विश्वभरका ६ वटा क्षेत्रीय समितिको सहभागिता रहनेछ, प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन्, ६ वटाभन्दा धेरै राष्ट्रसहितको क्षेत्रीय समितिका   प्रत्येक राष्ट्रबाट १ प्रतियोगी थपिने छन् ।’

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना गरिन लागेको उक्त कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् ।    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार होस्ट कन्ट्रीको भूमिकामा रहेको छ।

आइडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ रहेको रेग्मीले बताए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिने जानकारी उनले दिए । आगामी अप्रिल १६ र १७ तारिखमा प्रतियोगिता सञ्चालन गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु