काठमाण्डौं, १६ चैत । कांग्रेसका युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले आफू कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको छ ।
नेपाली काँग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई एक म्यासेज पठाउँदै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
म्यासेजमा वाग्लेले देउवा-आरजु गिरोहको निरन्तरको हेपाइ र अपमानले आफू काँग्रेसमा बस्ने नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको छ ।
वाग्लेको म्यासेजमा उल्लेख छ : ‘प्रिय दाइ, हजुरहरूको सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ ।
यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं ।
कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँ जहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।”
गोरखा थातथलो भएका वाग्ले आगामी उपानिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुने चर्चा चलेको छ।
तनहुँ १ बाट कांग्रेसले नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय भएसँगै वाग्लेको म्यासेज सार्वजनिक भएको हो ।
योजना आयोगका भूतपूर्व उपाध्यक्ष वाग्लेले गत मंसिरमा चितवन १ बाट चुनाव लड्ने चाहना राख्नुभएको थियो । चितवन कांग्रेसले त्यहाँबाट उहाँको नाम सिफारिस गरेर पठाएको पनि थियो । तर उहाँले त्यतिबेला टिकट पाउनुभएको थिएन र चुनाव लड्ने इच्छा अधुरै रहेको थियो ।