काठमाण्डौं,  १६ चैत । सत्तासीन पार्टी नेकपा एमालेले सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै उहाँहरूलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।केही दिन अघि नेपाल र रावललाई पार्टीले स्पष्टिकरण सोधेको थियो ।

कारवाही गरिएको जानकारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई आजै जानकारी गराउनुभएको छ  ।

उहाँहरूलाई पठाइएको कारवाही पत्रमा पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।

पत्रमा नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।

दुवैलाई पठाएको पत्रमा उल्लेख छ : ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ’ ।

त्यस्तै माधवकुमार नेपाललाई निलम्बन गर्नुको कारणबारे पत्रमा लेखिएको छ, ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर