काठमाण्डौं, २२ असोज । विपक्षी नेकपा एमाले र सत्ता गठबन्धनको एक घटक समाजवादी पार्टी (जसपा) बीच आगामी आम निवार्चनमा एक अर्कोको उम्मेदवारलाई सघाउने गरी चुनावी गठबन्धन भएको छ।

एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच  चुनावी गठबन्धन गर्ने अन्तिम निर्णय आज शनिबार भएको हो ।

यसबारे स्पष्ट पार्दै एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र सार्वजनिक गर्नुभएको छ ।

त्यस अनुसार यी दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा  १४ जिल्लामा मिलेर उम्मेदवारी दिने सहमित भएको छ।

ती जिल्ला हुन् सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरी ।

यी जिल्लाबाट प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ भने एमालेले त्यहाँबाट ३५ सिट लिएको छ । दुइ दलबीच भएको सहमति अनुसार प्रदेशसभातर्फ ती जिल्लाबाट एमालेले ७० सिट र जसपाले ४२ सिट बाँडेका छन् ।

सत्ता गठबन्धनसँग सिट बाँडफाँटको कुरा निमल्ने संकेत पाएपछि जसपाले एमालेसँग कुरा अघि बढाउँदै गरेको थियो । सत्ता गठबन्धनमा जसपाले आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने माग राखेको थियो । गठबन्धन त्यति सिट दिन राजी थिएन ।

माग जति सिट नपाउने भएपछि जसपाका अध्यक्ष उपेन्द्र यादव बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको गठबन्धनको बैठकै छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जानुभएको थियो। त्यसपछिको छलफपछि यी दुइ दलबीच यो गठबन्धन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर