काठमाडौँ, ३१ असार । नवनिर्वाचित उपसभामुख पुष्पा भुषाल गौतमले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनु भएको छ ।
उपसभामुखमा निर्वाचित भएपछि नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो वताउनुभएको हो ।
संविधान कार्यान्वयनका लागि आफ्नो भूमिका रहने उल्लेख गर्दै भुषालले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताउनुभयो । ‘संवैधानिक पद भएकोले निश्चय नै पहिलो काम अहिलेको सदनले जुन किसिमले उपसभामुखमा निर्वाचित गरायो । त्यसप्रति म आभार व्यक्त पनि गर्न चाहन्छु । निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरू थपिएका छन् । दायित्वहरू थपिएको छ,भन्दै संविधान कार्यान्वयनको लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नको लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउन, मुलुकको आर्थिक समृद्धिको लागि सदनमा एउटा तटस्थताको भूमिकालाई निर्वाह गर्न जुन जिम्मेवारी थपिएको छ । त्यसलाई इमान्दारीपूर्वक निर्वाह गर्नेछु भन्ने कुरामा म दृढ छु ।’
उपसभामुख भुषालले संवैधानिक परिषद्मा समन्वयकारी भूमिका खेल्ने पनि भन्दै संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढंगले काम गर्ने छु भन्नुभयो ।
‘संविधानले संवैधानिक परिषद्लाई एउटा प्रमुख अंगको रुपमा मान्यता दिएको छ । संविधानको जुन भावना हो, संवैधानिक परिषद्ले जुन काम, कर्तव्यहरू निर्वाह गर्नुपर्छ, त्यो अनुसार संवैधानिक परिषद्मा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैको उपस्थिति पनि रहेको छ,ु उहाँले भन्नुभयो । त्यो उपस्थितिको मागबमोजिम नै उपसभामुखलाई संवैधानिक परिषद्को एउटा सदस्यको रुपमा राखिएको छ । जुन अपेक्षा संविधानले संवैधानिक परिषद्सँग गरेको छ । त्यसमा आफ्नो भूमिका निर्वाह गर्नका लागि मैले इमान्दारीपूर्वक नै प्रभावकारी ढंगबाटै समन्वयकारी भूमिकाको रुपमा मैले आफ्नो भूमिका निर्वाह गर्नेछु ।’

उहाँले आफू सम्बद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर