काठमाडौँ, २८ फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै विरोध गरेको छ । नेपाल समूहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ ।
एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गर्नुभएको भन्दै आपत्ति जनाउनुभयो ।
सो समूहको बैठकपछि नेता रावलले भन्नुभयो, “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।”
चैत ४ गते राष्ट्रिय भेला बोलाएर पार्टी पुनर्संरचनाको अभियान घोषणा गर्ने नेपाल पक्षको तयारी छ । एमाले उपाध्यक्ष भीम रावलका अनुसार शनिबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ ।