काठमाडौँ, २८ फाल्गुन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षी केन्द्रीय सदस्यहरुको अनुपस्थित थियो । ओली पक्षको मात्र सहभागिता रहेको सो बैठकले अध्यक्ष र महासचिवबाहेक अन्य सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेको छ ।
खारेज पदाधिकारीहरुमा उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य हुनुहुन्छ ।
अध्यक्ष केपी ओली र महासचिव युवराज ज्ञवाली भने यथावत रहनुभएको छ ।
यसैगरी केन्द्रीय कमिटी बैठकले २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइएको छ ।
एमालेमा जिम्मेवारी हेरफेर
नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो ।
नेकपा (माओवादी केन्द्र)बाट आउनुभएका गृहमन्त्री रामवहादुर थापा वादल, लेखराज भट, प्रमु शाहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वागमती प्रदेशको इन्चार्ज, साहलाई प्रदेश–२ को अध्यक्ष र लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वागमति प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रदेश–१ को इन्चार्ज सुवासचन्द्र नेम्वाङ, अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल, प्रदेश–२ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल, बाग्मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादल, अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनी, गण्डकी प्रदेशको इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष जगत विश्वकर्मा र सचिव गोविन्द नेपालीलाई चयन गरिएको छ ।
यस्तै लुम्बिनीको इन्चार्जमा शंकर पोखरेल, अध्यक्ष लीला गिरी, सचिव खेममान खड्का, कर्णाली प्रदेशको इन्चार्ज यमलाल कँडेल, अध्यक्ष गुलाबजंग शाह र सचिव धर्मराज रेग्मी, सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र सिंह रावल रहनु भएको छ ।
यस्तै वागमती प्रदेशका अध्यक्ष पोखरेलका अनुसार एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत भएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागि भएका थिएनन् ।
यसअघि एमालेको नवौ महाधिवेशन २०७१ असारमा भएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तर यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले दुई पार्टी मिलि बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र व्यूँतिएको थियो ।