काभ्रेपलाञ्चोक, २१ फागुन।नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज यहाँबाट रिहाइ गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
करिब दुई सातादेखि धुलिखेलस्थित प्रहरी हिरासतमा रहनुभएका बाँस्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मीसामु बिहान १०ः०० बजे सार्वजनिक गर्नुभएको थियो । पार्टीका सचिवालय सदस्यसमेत रहनुभएका बाँस्तोला गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ पर्नुभएको थियो । पक्राउपछि विभिन्न प्रहरी हिरासतमा राख्दै धुलिखेल ल्याइएको हो ।
बाँस्तोलालाई सार्वजनिक गरिएलगत्तै प्रहरीकै सुरक्षामा काठमाडौँ लगिएको छ । सरकारसँग भएको सहमति घोषणा कार्यक्रममा सहभागी गराउन बाँस्तोलालाई काठमाडौँ लगिएको हो ।
