काठमाण्डौं, २६ फागुन । नेपाली काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ भन्ने नाराको स्थानीय निर्वाचन लक्षित एक महिने अभियान चलाउने भएको छ । यो अभियान यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ ।
चुनावी अभियान सफल बनाउनको लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको र ती प्रतिनिधिहरु अभियान सुरु हुनुभन्दा दुई दिन अघि नै तोकिएको जिल्लामा पुग्ने बताइएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले गत मंगलबार ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन खटिने केन्द्रीय नेताहरुलाई निर्देशन दिइसक्नुभएको छ ।
काँग्रेसको यो कार्यक्रम वडा र टोलमुखी रहेको छ । केन्द्रदेखि वडासम्मका नेताहरू वडा र टोलहरूमै रहेर जनतालाई आफ्नो कुराहरू बुझाउने, जनताको समस्या बुझ्ने र समाधानको बाचा गर्नेछन् ।
काँग्रेसको यो अभियानमा आठ उद्देश्य छन् । त्यसमध्ये मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने पहिलो उदेश्य हो । त्यस अनुसार सवै वडा र टोलसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्दै काँग्रेसको उम्मेदवारलाई जिताउन अपील अपील गरिनेछ ।
त्यस्तै ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति अनुसार पार्टीलाई परिचालन गर्ने, काँग्रेस नेतृत्वले विगतमा गरेका राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने रहेका छन् ।
काँग्रेसले जनतासमक्ष जाँदा नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
त्यस्तै यो अभियन अन्तर्गत काँग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बावजूद बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्दै आफ्नो नेतृत्वमा सरकार बनेपछि छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको कुरा जनतालाई बताउने छ ।
त्यसैगरी यो अभियान चलाउँदा एमसीसी संसदबाट पारित भएकोमा त्यसको जस लिन पछि नहट्ने, नडराउने र एमसीसीबारे जनस्तरमा फैलाइएको भ्रम हटाउन संलग्न नेताहरु लाग्ने छन् ।
यो अभियानले पछिका चुनावमा समेत जनतामा सकारात्मक प्रभाव पार्ने काँग्रेसको विश्वास छ ।
यसअघि केन्द्रीय कार्यसम्पादन समितिले यही फागुन २० गतेदेखि यो अभियान सुरु गर्ने निर्णय गरेको थियो । तर एमसीसी सम्झौता अनुमोदन र केही जिल्लामा अधिवेशनसमेत नभएकोले तयारी नपुगेको भनी रोकिएको थियो ।