भादगाउँ, १२ फागुन । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिनुभएको छ ।
बागीश्वरी माध्यमिक विद्यालयले अवकाश प्राप्त चार शिक्षकको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उहाँले संसद् पुनःस्थापनाले सत्ताको चलखेल शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् पुनःस्थापनाले शासक दलबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ । यसले शासक दलबीच सत्ताको चलखेलसमेत शुरु भएको छ ।”।
अध्यक्ष बिजुक्छेले शिक्षा र राजनीति एकापसमा सम्बन्धित विषय भएकाले शिक्षकले पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षकले राजनीति गर्न हुँदैन भन्ने ठम्याइ गलत भएको दावी गर्दै उहाँले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।