काठमाडौँ, १८ श्रावण । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफुले सुरक्षाकर्मी बाहेक कुनै पनि सरकारी सेवासुविधा नलिने वताउनुभएको छ ।
राज्यमन्त्री श्रेष्ठले उक्त कुरा आज मन्त्रालयमा ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।
उहाँले पत्रकार सम्मेलनमा व्यापार–व्यवसायमा आफू संलग्न नहुने प्रतिवद्धता समेत व्यक्त गर्दै सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवासुविधा मध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास, तलवभत्तालगायतका कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने उल्लेख गर्नुभएको छ ।
सो अवसरमा उहाँले आगामी चैत्र मसान्तसम्ममा सबै नेपाली नागरिकलाई कोभिड खोप लगाईसक्ने योजना पनि सार्वजनिक गर्नुभयो ।
उहाँले दोस्रो डोज खोपको पर्खाईमा रहेका ज्येष्ठ नागरिकलाई अभिलम्ब खोपको व्यवस्था गर्न आफूले खोपको व्यवस्थापनका लागि खोप कूटनीतिलाई उच्च प्राथमिकता दिएको पनि वताउनुभयो ।
कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अभिलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।