काठमाडौँ, ११ श्रावण । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।
आयोगले केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य यादव पक्षमा भएकाले सो आधिकारिकता यादव पक्षलाई दिएको हो।१९ पन्ने फैसला सुनाउँदै महन्थ ठाकुरलाई नयाँ नामसहित आयोगमा पार्टी दर्ताका लागि आउन भनिएको छ ।

२४ वटा बुँदाहरु रहेको फैसलामा राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्ने र व्यवहार पनि लोकतान्त्रिक हुनुपर्ने भनिएको छ ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद भएपछि आज निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराएको थियो ।

जसपाको आधिकारिकताबारे निर्णय लिन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । उक्त इजलासले यही साउन ३ देखि ६ गतेसम्म कानूनी बहस सकेर आज आयोगमा कागजातसहित उपस्थित हुन कार्यकारिणी समितिका सम्पूर्ण सदस्यलाई आग्रह गरेको थियो ।

आयोगको निर्णयपछि जसपाको अर्को पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खुलेको छ । एक वर्षअघि पार्टी एकीकरण भएको जसपा सत्ता समीकरणको विषयलाई लिएर अध्यक्ष यादव र अर्का अध्यक्ष ठाकुर पक्षबीच विवाद देखिएको थियो । जसपाको सङ्घीय संसद्को दुवै सदनमा सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद हुनुहुन्छ

जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा र अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए भने जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी सो विवादमा तटस्थ रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर