बुटवल , १ फागुन ।  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताउनुभएको छ ।  नेकपा प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक परिर्वतन, समृद्धि र सुशासनका लागि सरकार अघि बढिरहेका बेला समस्या सिर्जना भएको र केही मानिसले देश बनाउने नभई आफू र आफ्नो गुट बनाउने उद्देश्य नछाडेको उल्लेख गर्नुभयो ।

पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पार्टीबाट बाहिर गएर शुद्धीकरण हुनाका साथै पार्टी गतिशील भएको दाबी गर्नुभयो । “तीन वर्ष पार्टी निस्प्रभावी भयो । गएका वर्षमा हामीले यस्तो आमसभा गर्न सक्दैन थियौँ । अहिले जनतामा उत्साह छाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आन्दोलनले शुद्धीकरण खोजेको थियो । अहिले आफैँ महाशुद्धीकरण भएको छ ।” प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले तीन वर्षसम्म काम गर्न नदिएको स्पष्ट पार्नुभयो ।

पार्र्टीमा देश बनाउने उद्देश्यमा सहमत हुन नसक्ने तत्व पार्टी छाडेर सडकमा पुगेको बताउँदै उहाँले ताजा जनादेशका लागि जनतामा जानु प्रतिमगन हो भने तपाइँले कस्तो व्यवस्था खोजेको हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “देश बनाउने कुरा छैन तर, प्रधानमन्त्री बन्नुप¥यो, अर्कालाई पार्टी अध्यक्ष बन्न मन लाग्यो । मैले महाधिवेशनबाट अध्यक्ष चुन्ने प्रक्रियामा जाऊँभन्दा उधारो होइन, हाताहाती नगद चाहियो भन्ने ?”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी देश बनाउन हिँडेका छौँ, त्यसैले जित्छौँ । १० वर्षसम्म प्रचण्डले झुक्याउनु भएको थियो । अब त्यो समय गयो, जनता अलमलिँदैनन् ।  प्रधानमन्त्री ओलीले सरकार चलाउन नदिई देश अस्थिरतातर्फ लैजाने खेल भएपछि विशेषाधिकार प्रयोग गरेर संसद् विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो । “आफूलाई लोकप्रिय लागेको छ भने जनमतमा जानुपर्छ चुनावबाट तर्सिनु हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

हिजोका दिनमा परिवर्तनका लागि भनेर शहीदको पंक्तीमा लाम लाग्न सिकाएकाले सत्तामा पुगेपछि जनयुद्धका घाइते र शहीद परिवारको बेवास्ता गरेको बताउनुभयो । “हिजो झुठा सपना बाँडेर कतिलाई शहीद, घाइते बनाए ती सबैलाई सरकारले सम्बोधन गर्छ । उनीहरूको उपचार र रोजगारीको व्यवस्था गर्छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्ने तत्व सक्रिय रहेको बताउँदै हत्या हिंसामा संलग्न अपराधीलाई पानी मुनि गए पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मुलुकमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने भ्रष्टाचारी र अपराधीलाई कारवाही गर्ने बताउनुभयो । (तस्बीर उपलब्ध छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर