ललितपुर, २९ भदौः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ ।

महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको साङ्गठनिक तथा राजनीतिक जीवनको महत्त्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन आह्वान गर्नुभएको हो । आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभयो ।

उहाँले महाधिवेशन प्रक्रियामा कोही पनि क्रियाशील सदस्य छुट्न नहुने उद्देश्यले पटकपटक समयावधि थप गरिएको तथा वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको बताउनुभयो ।

महामन्त्री पौडेलले विशेष महाधिवेशनमा सहभागी नभएका धेरै सदस्य केन्द्रदेखि वडा र टोल तहसम्म अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको भन्दै कांग्रेसले उनीहरूको भूमिकाको सम्मान गरेको बताउनुभयो ।

कांग्रेसले महाधिवेशनलाई महाउत्सवका रूपमा व्याख्या गर्दै पार्टीभित्र देखिएका असहमति र चासोलाई संवाद तथा सहमतिबाट सम्बोधन गर्न केन्द्रीय कार्यसमितिले निरन्तर पहल गरिरहेको उहाँको कथन छ ।

बैठकले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले कुनै असहमति भएमा आफ्ना धारणा राख्ने र समाधान खोज्ने उपयुक्त स्थान महाधिवेशन नै भएको निर्णय गरेको छ । महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण बनाउन कांग्रेस प्रतिबद्ध रहेको निर्णय गरेको महामन्त्री पौडेलले जानकारी दिनुभयो ।

महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली बैठकले स्वीकृत गरेको छ । यस्तै, केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिएको राजीनामाबारे सभापति थापाले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर