काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।मानव बेच बिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यो सङ्गठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गरे ।
‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ आज दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताए ।
