चीन, १२ असार । चिनियाँ वैज्ञानिकहरूले बिलकुलै नयाँ प्रजातिको मानवको हुनसक्ने प्राचीन खप्पर सार्वजनिक गरेका छन् ।
वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ ।
ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १,४६,००० वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ ।
सो खप्पर उत्तर पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको भए पनि वैज्ञानिकहरूले हालै मात्र पत्ता पाएका हुन् ।
सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ ।
यूकेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य थिए ।
गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो उहाँले बीबीसी न्यूजलाई बताउनुभयो ।
हामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स (आधुनिक मानव) बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो ।
अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनःलेखन गर्न सक्ने सम्भावना बोकेको छ ।
उनीहरूको विश्लेषणमा यो प्रजाति नीयान्डर्टालभन्दा नजिक आधुनिक मानव प्रजातिसँग देखिएको छ ।
यो प्रजातिलाई उनीहरूले होमो लङ्गी नाम दिएका छन् ।
चिनियाँ भाषामा लङ्को अर्थ ड्रागन हुन्छ ।

ड्रागन म्यान
हामीले लुप्त भएको एउटा हाँगो भेटेका छौँ, चिनियाँ वैज्ञानिक सिजुङ् नीले भन्नुभयो ।
यो यति राम्रो अवस्थामा भेटिएको कुरा विश्वासै गर्न सकिने थिएन । यो साँच्चै नै गजबको खोज हो ।
यो खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो छ र यसको मस्तिष्क हाम्रो प्रजातिको आकारको छ ।
ड्रागन म्यानको ठुलो र झन्डै चारकुने परेको आँखा, बाक्लो आँखीभौँ, चौडा मुख र ठूलो दाँत भएको देखिन्छ ।
वैज्ञानिकहरूले ड्रागन म्यान बलिष्ठ भएको अनुमान गरेका छन् ।
तर सो खप्पर पत्ता लागेको स्थानबाट हटाइएको भएका कारण यसका हतियार वा संस्कृतिका अन्य सामान पत्ता लागेका छैनन् ।
यो खप्पर सन् १९३३ मा सोङ्हुवा नदीमाथि पुल बनाउन खटिएका एक ज्यामीले भेट्टाएको बताइएको छ ।बीबीसी
