काठमाडौ, ९ असार । आज नेप्से परिसूचक २६.१६ अंकले घटेर दुई हजार ६ सय ७४.४८ बिन्दुमा कायम भएको छ।
‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा ०.५० प्रतिशतको गिरावट भएको छ भने कारोबार रकम समेत ओरालो लागेको छ।
आज चार अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार हुँदा हिजो चार अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। आज ३५३ कम्पनीको एक करोड ४० हजार कित्ता सेयर खरिद बिक्री भए।
नेप्सेका १३ समूहमध्ये म्युचल फण्ड ०.४५ प्रतिशतले वृद्धि हुँदा बाँकी १२ समूह घटेका छन्। वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले ओरालो लागे।
नेप्से घटे पनि टक्सार पिखुवा र यम्बलिङ हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। लक्ष्मी उन्नती कोष, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, सनराइज ब्लुचिप फण्ड पाँच प्रतिशतभन्दा धेरैले बढेका छन्।
तर बुंगल हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। एपोलो हाइड्रो, सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोका लगानीकर्ताले क्रमशः ११, ७ र ५ प्रतिशतभन्दा धेरै गुमाए।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा छ। उक्त कम्पनीको नौ लाख १३ हजार ६५० कित्ता सेयर ३४ करोड १६ लाख २९ हजार रुपैयाँमा कारोबार भएको हो।
