काठमाण्डौं, ३ असार । क्रियाशिल पत्रकार महिला, डब्लुडब्लुजेले रामेछाप जिल्ला अध्यक्ष, पत्रकार महासंघ वागमती प्रदेश समितिको सदस्य तथा अन्नपूर्ण टाइम्सको सह-सम्पादक ज्ञानु श्रेष्ठलामाथि अपशव्द प्रयोग गर्दै कुटपिटसमेत गर्ने धम्की दिएकोमा रामेछापका एक शिक्षकलाई कारवाही गर्न माग गरेको छ ।
कोभिड-१९ विरुद्धको खोप दुरुपयोग भएको विषयलाई लिएर समाचार लेखेको भन्दै रामेछाप जिल्लाको रामेछाप नगरपालिका ६ स्थित जनकल्याण मा वि का शिक्षक ख्यानबहादुर श्रेष्ठले डब्लुडब्लुजेको रामेछाप जिल्ला अध्यक्ष पत्रकार ज्ञानु श्रेष्ठलाई अपशव्द प्रयोग गर्दै वाटोमा नै कुटपिट गर्नेसम्मको धम्की दिएका थिए ।
डब्लुडब्लुजेको विज्ञप्तिमा समाचार चित्त नवुझेमा कानूनी उपचार खोज्ने ढोका खुल्ला हुँदाहुँदै गालिगलोज तथा कुटपिट सम्मको धम्की दिनु समग्र पत्रकार र पत्रकारिता पेशालाई नै अपमानित गर्नु निन्दनीय विषय हो भन्ने उल्लेख छ ।
पत्रकारलाई धम्की दिने निज शिक्षक श्रेष्ठलाई कानूनी कारवाहीको माग गर्दै डब्लुडब्लुजेले लक्षित वर्गको लागि प्राप्त खोपको दुरुपयोग गर्ने कार्यको छानविन गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरेको छ ।
त्यसै गरी यसबारे नेपाल पत्रकार महासंघ वाग्मति प्रदेश समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप र नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले पनि त्यस घटनाको निन्दा गर्दै पत्रकार ज्ञानु श्रेष्ठलाई धक्की दिने शिक्षक ख्यानबहादुरमाथि कारबाहीको माग गरेका छन् ।