काठमाडौँ, जेठ २८ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई दोस्रोपटक कारबाही गर्दै पदमुक्त गरेको छ । बिहीबार ह्वीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाले जानकारी दिएको छ ।
शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गर्दै पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको जानकारी जनमोर्चाले दिएको छ । ‘शुक्रबार बिहान अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गरिएको छ । उनलाई सांसद पद र पार्टी सदस्यता नै नरहने गरी कारवाही गरेको पत्र प्रदेशमा पठाइएको छ’ ।
विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसे ।
जनमोर्चाले थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको कारवाही सम्बन्धी पत्र पढेर सुनाए पश्चात थापा फेरी दोश्रो पटक पदमुक्त भएको अबस्था छ ।
जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो ।त्यसको बिरुद्धथापा सर्वोच्च अदालत गएकामा अदालतले अन्तरिम आदेश मार्फत पुनर्बहाली गरेको थियो ।
