दक्षिण अफ्रिका, २७ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् ।
एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने बताइएको छ ।
गोसियामे थमारा सिथोलेका पतिका अनुसार पहिला स्क्यान गर्दा गर्भमा आठ वटामात्र बच्चा देखिएको थियो ।

तर १० वटा जन्मिँदा आफू छक्क परेको उहाँले बताउनुभयो ।

सात छोरा र तीन छोरी छन् । म खुसी छु, म भावुक भएको छु । म धेरै कुराकानी गर्न सक्दिनँ, सोमवार राति बच्चा जन्मिएपछि टेबोहो सोतेत्सीले प्रिटोरीआ न्यूजलाई बताउनुभयो ।

सैँतीस वर्षीया सिथोले पहिले पनि जुम्ल्याहा बच्चा जन्माएको र तिनीहरु अहिले छ वर्षका भएका छन् ।

गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

मालीमा एक महिलाले जन्माइन् एकै पटक नौ बच्चा
दुई फरक पुरुषबाट जन्मिएका हुन् यी जुम्ल्याहा बालबालिका
दक्षिण अफ्रिकी अधिकारीहरूले बीबीसीसँग एकै पटकमा १० वटा बच्चा जन्मिएको पुष्टि गरे ।

गिनिज वर्ल्ड रेकर्ड्सले बीबीसीसँग सिथोलेको विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।
सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन् । एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उनकै नाममा रहेको छ ।

तर गत महिना मात्र मालीकी २५ वर्षीया हालिमा सिसेले नौवटा बच्चालाई जन्म दिएकी थिइन् ।

मोरक्कोको क्लिनिकमा उनी अहिले राम्रो स्वास्थ्य अवस्थामा रहेको बताइएको छ ।

धेरै बच्चाहरू भएको अधिकांश गर्भ अपरिपक्व अवस्थामै अन्त्य हुने गरेको बीबीसी अफ्रिकाका स्वास्थ्य संवाददाता रोडो ओडियाम्बो बताउँनुभयो ।
प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा मात्र त्यस्ता घटना हुने गरेको पाइन्छ । तर यो घटनामा ती दम्पतीले प्राकृतिक रूपमै गर्भाधान गरेका थिए।

प्रिटोरीआ न्यूजसँग एक महिनाअघि कुराकानी गर्दै सिथोलेले सुरुमा आफ्नो गर्भावस्था निकै कठिन रहेको बताएकी थिइन्।

उनले स्वस्थ्य रूपमा बच्चा जन्माउन प्रार्थना गरेकी र कस्तो होला भन्ने चिन्तामा कैयौँ रातहरू कटाएको पनि बताएकी थिइन् ।
उनीहरू कसरी गर्भमा अटाउलान् ? के उनीहरू बाँच्लान् ? उनी आफैँसँग भन्ने गर्थिन् । तर चिकित्सकहरूले गर्भाशय फैलिरहेको पुनः सुनिश्चित गराएका थिए ।
उनको गर्भमा आठवटा भ्रूण रहेको ठानिएको थियो त्यसबेला सिथोलेले गोडामा दुखाइ अनुभव गरेकी थिइन् ।

चिकित्सकहरूले आठमध्ये दुई भ्रूण गलत स्थानमा रहेको पाएका थिए ।
त्यसलाई समाधान गरिएको थियो र त्यसपछि म ठिक थिएँ । म मेरा बच्चा पर्खिन सक्दिनँ, त्यस बेला उनले उक्त पत्रिकालाई भनेकी थिइन्।

यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन् । तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन् ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर