काठमाडौँ, १ पुसः नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान बुधबार बिहान हुने भएको छ ।
आज साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ः०० बजेदेखि मतदान हुने छ ।
“विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि आज साँझदेखि सुरु गर्ने भनिएको मतदान स्थगित गरिएको छ”, उहाँले भन्नुभयो । यसअघि आज साँझदेखि मतदान हुने तय भएपछि प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेका थिए ।
तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता
महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उहाँहरू सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
उहाँका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
