काठमाडौँ, २० जेठ ।  आज नेकपा एमालेको छुट्टाछुट्टै बैठक बस्दै छ । नेकपा एमालेको केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने  झलनाथ खनाल माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दैछन्  ।    दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बतानुभएको छ । नेता खनाल र नेपालले आज केन्द्रीय कमिटीमा छलफल गरेर आगामी रणनीति बनाउने बुझिएको छ ।

नेपालसहित ११ जनालाई पार्टीबाट निकालेर ओली पक्ष एकताको प्रयास गरिरहेको छ । यद्यपि ओली पक्षबाट नेपाल पक्षका केन्द्रका १२ जना र सुदूरपश्चिमका १० जना नेतामाथि  कारबाहीको तयारी रोकिएको छ ।

नेकपा एमालेले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिनुभएको हो ।

“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भत्र्सना गर्दछु”, विज्ञप्तिमा भनिएको छ, “पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर