काठमाण्डौँ, २९ बैशाख । नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । हिजो आइतबार भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालसँगै समूह ‘बी’ बाट भारत पनि अन्तिम चारमा पुगेको छ । अब समूहको शीर्ष स्थानका लागि नेपाल र भारत भिड्ने छन् । दुवै टिम समान तीन–तीन अंकमा छन् ।
श्रीलंका भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
हिजोको खेलमा नेपालको तर्फबाट लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर र सुवास बम, विज्ञान खड्का र लक्षु थापाले १–१ गोल गरेका थिए ।
यसै समूहको पहिलो खेलमा भारतले श्रीलंकामाथि ८–० को ठूलो अन्तरको जित निकालेको थियो ।
यो प्रतियोगिताको समूह ‘ए’ बाट बंगलादेश सेमिफाइनल पुगेको छ । उसले आइतबारको पहिलो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो । जितसँगै बंगलादेशको दुई खेलबाट चार अंक भएको छ । आफ्नो पहिलो खेलमा बंगलादेशले माल्दिभ्ससँग २–२ को बराबरी खेलेको थियो ।
अब यो समूहको लिग चरणको अन्तिम लिग खेलमा माल्दिभ्स र भुटान भिड्ने छन् । त्यसमा माल्दिभ्सलाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त रहनेछ भने भुटानलाई निश्चित जित आवश्यक पर्नेछ ।
