म्याग्दी, ४ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ ।
सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् । वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७ जनाको सिंगामा स्वाब सङ्कलन गरेका थिए ।
“तातोपानी, सिंगा, बास्कुना, थामडाँडा, डाँडाखेत र सुर्केमेलामा बढी सङ्क्रमित छन । कतिले अझै परीक्षण गरेका छैनन”, वडाध्यक्ष पौडेलले भन्नुभयो, “छुटेका र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको मङ्गलबार पुनः तातोपानीमा स्वाब सङ्कलन गर्दैछौँ ।”
गत वैशाख १४ गते तातोपानीका होटल व्यवसायीहरुलाई कोरोनाको लक्षण देखिएको थियो । वडाध्यक्ष पौडेलका अनुसार यसअघि बेनी नगरपालिकाको वडा नं ४ मा १६ सङ्क्रमित थिए । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका तातोपानी कुण्ड बन्द गराउन निर्देशन दिनुभन्द्या अघिदेखि नै तातोपानीमा भित्रिएको कोरोना फैलिने क्रममा थियो ।
तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाँडाखेत, बास्कुना र थामडाँडामा १४ गतेपछि चौरासी पूजा, विवाह, क्रिया कर्म, व्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए र त्यहाँ भोजभतेर र जमघट भएको थियो । नागरिकहरु सचेत भइसकेका थिएनन् । मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने अभ्यासप्रति ध्यान दिएनन् । प्रशासनले प्रतिबन्ध लगाए पनि सांस्कृतिक कार्यमा बाजागाजा, नाचगान र भोजभतेर चल्यो ।
तातोपानी स्नान र भ्रमणमा आएका शहरी क्षेत्रका पाहुनामार्फत भित्रिएको कोरोना समुदायस्तरमा फैलाउन सांस्कृतिक कार्यले सहयोग पुगेको ठहर जिल्लास्थित सुरक्षा निकाय, जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले गरेका छन् । फैलिएको कोरोना नियन्त्रण गर्न सिंगा, तातोपानीलगायतका बस्तीका बासिन्दाहरु घरभित्रै बसेका छन् ।
यसैबीच बेनी नगरपालिकाका ५१ सहित म्याग्दीमा सोमबार ८२ नयाँ सङ्क्रमित थपिँदा ५३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जित्नेमा बेनीका तीन महिनाको शिशुदेखि रघुगङ्गाका ८९ वर्षका वृद्धसम्म छन् ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा रघुगङ्गामा थप ११ सङ्क्रमित भेटिएका छन् । चौध जनाको पिसिआर परीक्षण गरिएको थियो।उनीहरु सबै वडा नं ४ का हुन् । रघुगङ्गाको वडा नं ४ मा पर्ने दग्नाममा वैशाख तेस्रो साता भूमे पूजा भएको थियो ।
एन्टिजेन परीक्षणबाट रघुगङ्गामा तीन, धवलागिरिमा १४, मङ्गलामा दुई र अन्नपूर्णमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । धवलागिरिका सङ्क्रमित वडा नं २ लुलाङ र लम्सुङका हुन् ।
हालसम्म ९६७ सङ्क्रमित रहेको म्याग्दीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४४ जना छ । म्याग्दीबाट पठाइएको ४१६ वटा स्वाब नमूनाको नतिजा आउन बाँकी छ । वैशाख २२ गते रातिदेखि शुरु भएको निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ ।